काठमाडौँ, ६ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल र चीनबीचको सम्बन्ध सगरमाथा जस्तै अग्लो रहेको बताएका छन् । बुधवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडान अवतरण गरिसकेपछि आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘यो शुरुवात गर्नु धेरै ठूलो कुरा हो । यो भन्दा पनि ठूलो कुरा यसलाई निरन्तर सञ्चालन गर्नु हो । यो लामो यात्राको पहिलो पाइला हामीले प्रारम्भ गरेको अनुभूति भएको छ’ मन्त्री किराँतीले भने, ‘सगरमाथा विश्व शिखर मात्रै होइन, विश्वकै अग्लो सीमाना पनि हो । यो भन्दा अग्लो सीमाना दुनियाँमा कतै छैन । तर अनौठो कुरा यो प्राकृतिक सीमाना जति अग्लो छ । त्यो भन्दा अग्लो हामी दुई देशबीचको सम्बन्ध छ । हाम्रो भाषा र संस्कृतिको सम्बन्ध पनि त्यति नै नजिकको छ ।’



