कञ्चनपुरमा लामो समयदेखि पानी नपर्दा खेतमै सुक्न थाले उखु

`

     २०८० ज्येष्ठ २९ गते १०:५७

काठमाडौँ, जेठ २९ । कञ्चनपुरमा लामो समयदेखि पानी नपर्दा अत्यधिक गर्मी बढेसँगै उखु सुक्न थालेपछि किसानहरू चिन्तित बनेका छन् । आम्दानीको स्रोतको रुपमा रहेको उखु खेतमै सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् ।

केही दिनयता अत्यधिक गर्मी बढ्नुका साथै सिँचाइको लागि आकाशबाट पानी नपर्दा उखु खेतमै सुक्न थालेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी हरि जोशीले जानकारी दिए । ‘यहाँ धेरै ठाउँमा आकाशको पानीको भरमा खेती हुन्छ’, उनले भने, ‘पानी नपरेकोले र पछिल्लो समय तापक्रम पनि बढेकाले खेती सुकिरहेको छ ।’

कञ्चनपुरको पुनर्वास, बेलौरी, लालझाडी, बेलडाँडी र दोधारा चाँदनीमा बढी उखु खेती हुने गरेको छ । जिल्लाभर आठ सयदेखि एक हजार हेक्टर जमिनमा उखु खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कञ्चनपुरमा उखुको उत्पादन प्रतिहेक्टर ५५ देखि ६० टन हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?