एजेन्सि, जेठ ४ । अमेरिकी ऋण सङ्कटका कारण आगामी हप्ता हुने भनिएको राष्ट्रपति जो बाइडनको भ्रमण रद्द भएको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पपुवा न्यु गिनीमा अमेरिकाको प्रतिनिधित्व गर्ने भएका हुन् ।
बाइडेनले पपुवा न्यू गिनीका प्रधानमन्त्री जेम्स मारापेलाई एयर फोर्स वानबाट फोन गरेर रिपब्लिकन प्रतिद्वन्द्वीसँग वार्तामा सामेल हुन आइतबार घर फर्किनुपरेको जानकारी गराएका बिहीबार ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति बाइडेनले प्रशान्त टापुसँगको नयाँ साझेदारीका लागि अमेरिकी प्रतिबद्धतालाई निरन्तरता दिँदै विदेशमन्त्री ब्लिन्केनले पोर्ट मोरेस्बीमा हुने युएस प्यासिफिक आइल्यान्ड्स फोरमको बैठकमा आफ्नो प्रतिनिधित्व गर्ने जानकारी गराएका छन् ।”




