काठमाडौँ, बैशाख २५ । काठमाडौँमा दिनानुदिन आर्थिक अपराधका घटना वृद्धि हुँदै गएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय काठमाडौँमा आर्थिक अपराधका घटनामा वृद्धि भएको बताएका छन् ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आज प्रहरीवृत्त दरबारमार्गले आयोजना गरेको ‘नागरिक सुनुवाइ कार्यक्रम’मा उनले पछिल्लो समय काठमाडौँभित्र आर्थिक अपराधसम्बन्धी ‘चेक बाउन्स’का घटनामा उजुरी बढेको बताएका हुन् । “काठमाडौँमा दैनिक ‘चेक बाउन्स’ सम्बन्धी ३० देखि ३५ उजुरी प्रहरीकामा आउने गरेको छ, मासिक झण्डै एक हजारभन्दा बढी उजुरी आउँछन्, आर्थिक अपराधका घटनाबाट सजग हुनुपर्छ”, उनले भने ।
डलर साटिदिन्छु, चिठ्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भन्दै ठगी गर्नेको सङ्ख्यासमेत बढेको उनको भनाइ छ । काठमाडौँ प्रहरी प्रमुख कार्कीले रात्रिकालीन व्यवसायलाई सुरक्षित र व्यवस्थित बनाउन आचारसंहिता बनाएर लागू गर्नुपर्ने उल्लेख गरे ।




