काठमाडौँ, बैशाख २२ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय गुल्मीका विभिन्न भवनको उद्घाटन गरेका छन् ।
बिहीबार एक कार्यक्रमबीच उनले भवन उद्घाटन गरेका हुन् । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले भौतिक संरचनाका हिसाबले प्रहरी कार्यालय अब्बल हुनुपर्ने बताए ।
“प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्छ”, उनले भने, “पछिल्लो पटक प्रहरीलाई हेर्ने दृष्टिकोण र भरोसा फेरिएको छ ।” प्रहरीले सङ्ख्यात्मकभन्दा पनि गुणात्मकरुपमा सेवा प्रवाह गरिरहेको बताए ।
जिल्ला प्रहरी कार्यालय परिसरमा कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास, व्यारेक, मेस र हिरासत कक्ष निर्माण गरिएका छन् ।




