काठमाडौँ, ११ बैशाख । सरकारले नेपालमै उत्पादन भएका यात्रीलगायत सवारी साधनको दर्ताका लागि कानुनी जटिलता सहजीकरणका लागि पहलकदमी लिएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपालमा उत्पादन भएका सवारीसाधन सञ्चालनमा देखिएको कानुनी जटिलता तत्काल समाधान गर्न पहल गरिने बताए।
मन्त्री ज्वालाले आज मन्त्रालय मातहतका कर्मचारी र रोकारवाला निकायसँग कार्यविधि संशोधनका लागि निर्देशन दिएका हुन् ।
“दुई दिनभित्र नेपालमा उत्पादन भएका सवारी साधनको दर्ता र सञ्चालनको समस्या हल हुन्छ”, उनले भने, “स्वदेशमै उत्पादन भएका सवारीसाधनलाई हामी प्रोत्साहन गर्छौ, तर त्यसको सुरक्षा, सुलभ मूल्यमा होस् भन्नेमा हाम्रो चासो छ ।”
नेपालमा उत्पादन भएका सवारी साधनको दर्ता र सञ्चालनमा लामो समयदेखि जटिलता रहँदै आएको थियो । मन्त्री ज्वालाले नेपाली उत्पादनलाई प्रोत्साहन र सहजीकरण गरिने उल्लेख गरे। कानुनी जटिलतालाई तत्काल हल गर्न यातायात व्यवस्था विभागको कार्यविधि निर्देशिका संशोधन भएका छन्। यात्रीलगायतले नेपालमा विद्युतीय मोटरसाइकल उत्पादन गर्दै आएका छन् ।




