अघिल्लो महिनाको तुलनामा महँगी ओरालो लाग्दै

`

     २०७९ चैत्र २८ गते ३:५६

काठमाडौँ, चैत २८ । समग्र बजार महँगीदरमा अघिल्लो महिनामा भन्दा सुधार भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ८ महिनाको वित्तीय विवरणअनुसार माघ महिनाको तुलनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ओरालो लागेको हो ।

खाद्य तथा पेय पदार्थको मूल्यवृद्धिमा राम्रो सुधार देखिए पनि गैरखाद्य तथा सेवातर्फको महँगी भने झिनो मात्रै सुधार देखिएको छ । फागुन महिनासम्म समग्र मुद्रास्फीति ७.४४ प्रतिशतमा झरेको छ । माघ महिनामा यस्तोदर ७.८८ प्रतिशत थियो । तर गत वर्ष फागुनसम्म यस्तो दर भने ७.१४ प्रतिशत थियो ।

अघिल्लो महिनाको तुलनामा खाद्य तथा पेय पदार्थको समग्र मुद्रास्फीति ६.१९ प्रतिशतबाट घटेर ५.६४ प्रतिशतमा सीमित भएको छ । जुन गत वर्षको समीक्षा अवधिको तुलनामा झण्डै २ प्रतिशतले कम हो । गत वर्ष खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ७.५१ प्रतिशत थियो । यस्तै गैर खाद्य तथा सेवातर्फको मुद्रास्फीति भने गत वर्षको तुलनामा २ प्रतिशतले उच्च रहेपनि यस्तो दरमा गत महिनामा भन्दा सुधार आएको छ । माघमा गैर खाद्य तथा सेवाको मुद्रास्फीति ९.२२ प्रतिशत थियो ।

समीक्षा महिनामा खद्य तथा पेय पदार्थ समूह अन्र्तगत खाद्य तथा खाद्यजन्य पदार्थको वार्षिक विन्दुगत मूल्य सूचकांक १४.३५ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको खानाको १४.३५ प्रतिशत, मसलाको १०.८८ प्रतिशत, सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशत र मदिराजन्य पेय पदार्थको ८.७८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । गैर खाद्य तथा सेवा समूह अन्र्तगत यातायात उपसमूहको मूल्य सूचकांङ्क १३.२३ प्रतिशत, स्वास्थ्यको १०.३९ प्रतिशत, घरायससी उपकरण ८.७९ प्रतिशतले बढेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?