काठमाडौँ, २३ चैत्र । शुक्रबारदेखि प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगले चितवन, बारा र तनहुँ जिल्लाभर यही चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी भोलि शुक्रबारदेखि आचारसंहिता लागू गर्ने निर्णय गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । आगामी वैशाख १० गते चितवन क्षेत्र नं २, बारा क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा उपनिर्वाचन हुँदैछ ।




