काठमाडौँ, चैत १६ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता पठाउन ट्रेजरी बिल सोझै खरिद बोलकबोल (आउटराइट पर्चेज) गर्ने भएको छ । केन्द्रीय बैंकले २०८० असार मसान्तसम्म भुक्तानी अवधि भएका २५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल आउटराइट पर्चेजका लागि बोलकबोल आह्वान गरेको छ ।
१६ चैत बिहीबार ३ बजेसम्म आवेदन दिन सकिने उक्त आउटराइट पर्चेजको १७ चैत शुक्रबार खरिद हुने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले बिक्री गर्न चाहेको ट्रेजरी बिल ५ करोड वा ५ करोडले भाग लाग्ने खरिद गर्न चाहेको रकमसम्म बोलकबोल पेश गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
चालु आर्थिक वर्षमा यसअघि पनि केन्द्रीय बैंकले आउटराइट पर्चेज मार्फत ८३ अर्ब ८५ करोड रुपैयाँ तरलता बैंकिङ प्रणालीमा पठाइसकेको छ ।
ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।




