काठमाडौँ, चैत्र १६ । चीनले रसुवागढी–केरुङ नाका सुरू गर्ने फेरि प्रतिबद्धता गरेको छ ।
कोभिड–१९ पछि चीनको शून्य कोभिड–१९ नीतिको कारण लगातार रुपमा उत्तरी नाकाहरुमा व्यापारमा अवरोध हुँदै आइरहेको छ । तर बुधबार ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बैठकमा चीनले फेरि केरूङ नाकालाई दुईतर्फी रुपमा सञ्चालन गर्ने प्रतिबद्धता गरेको हो ।
ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले बैठकपछि जारी गरेको विज्ञप्ति अनुसार चीनले चैत १८ गते देखि उक्त नाकामा दुईतर्फी व्यापारका लागि पूर्ण सञ्चालन गर्ने जनाएको हो । साथै, यस पटक जनताको पनि दुईतर्फी आवतजावतका लागि पूर्णरुपमा सञ्चालन गर्न लागिएको जनाएको छ । कोभिड–१९ पछि पहिलो पटक चीनले दुईतर्फी रुपमा जनतालाई आवत–जावत गर्नको लागि खुला गर्न लागेको हो ।




