काठमाडौं, चैत १४ । बालुवाटारमा सत्ता गठबन्धनको बैठक चलिरहेको छ ।
आज अपराह्न बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायत सत्ता गठबन्धन दलका शीर्ष नेता सहभागी छन्।
साथै लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, आम जनता पार्टीका अध्यक्ष प्रभु शाहलगायत पनि बैठकमा सहभागी छन्।
बैठकमा मन्त्रालय भागबन्डा र सरकारका न्यूनतम साझा कार्यक्रमबारे छलफल भइरहेको छ। प्रधानमन्त्री दाहालले गत चैत ६ गते दोस्रो पटक प्रतिनिधि सभाबाट विश्वासको मत लिएका थिए। तर अहिलेसम्म मन्त्रिपरिषद बिस्तार हुन सकेको छैन।




