काठमाडौँ, चैत १४ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रहरीले युवाको मुख थुनिरहेको दृश्य आपत्तिजनक रहेको टिप्पणी घरेका छन् ।
सामाजिक सञ्जाल मार्फत महामन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्दै आफूविरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न गराउन अविलम्ब पहलको माग गरेका छन् ।
उनले भनेका छन्- लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन । प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुस्खद र आपत्तिजनक थियो । सम्माननिय प्रधानमन्त्रीज्यु, आफूविरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न र गराउन अविलम्ब पहलको माग गर्दछु ।
यही चैत ७ गते नयाँ बानेश्वरमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेका सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बाग्लुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्कालाई जेल चलान गरिएको छ ।




