काठमाडौँ, चैत १३ । ६२औँ विश्व रङ्गमञ्च दिवसको अवसरमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान तथा माला आर्टस् एकेडेमीको संयुक्त आयोजनामा सोमबार प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा विश्व रङ्गमञ्च दिवस मनाइएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा वरिष्ठ नाटककार अभि सुवेदीले विश्व रङ्गमञ्च सन्देशका रुपमा अन्तर्राष्ट्रिय रङ्गमञ्च संस्थाले छनौट गरेको इजिप्टकी प्रख्यात अभिनेत्री समिहा अयुवद्वारा लिखित सन्देशको नेपाली अनुवाद वाचन गरिएको थियो ।
सन्देश डा। शिव रिजालले नेपालीमा अनुवाद गरेका थिए । कार्यक्रममा वरिष्ट रङ्गकर्मी सुनिल पोखरेलले ६२ औँ रङ्गमञ्च सन्देशका लेखक समिहा अयुवकाबारेमा जानकारी गराएका थिए ।
माननीय मन्त्री किरातीले रङ्गमञ्च दिवसको शुभकामना व्यक्त गर्दै कला मानव समाजमा मनोरञ्जनका लागि मात्र अस्तित्वमा आएको नभई मानव जीवन र समाज रुपान्तरणका लागि बनेको बताए ।



