काठमाडौँ, चैत ३ । उपराष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले भने मतदानमा भाग नलिने जनाएका छन् । राप्रपाले गएको बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उपराष्ट्रपति निर्वाचनमा मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको हो ।
राप्रपाबाट प्रतिनिधिसभामा १४ र प्रदेशसभामा २८ सांसद छन्। उनीहरूको कुल मतभार दुई हजार ४५० हुन्छ। राप्रपा गएको राष्ट्रपति निर्वाचनमा पनि तटस्थ बसेको थियो ।
त्यस्तै उपराष्टपतिको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहभागी नहुने भएको छ । पार्टी केन्द्रिय कार्यालयमा शुक्रबार बसेको केन्द्रिय सचिवालयको बैठकले पार्टीका सांसदहरुलाई निर्वाचनमा भाग नलिन निर्देशन दिने निर्णय गरेको हो ।
एमसीसी खारेज गर्न भूमिका खेल्नेलगायतका विषयमा कुनै पनि पार्टीको कुनै पनि उम्मेदवारले प्रतिवद्धता नजनाएकाले चुनावमा सहभागी नहुने निर्णय गरिएको पार्टी सचिव एवं संघीय सांसद प्रेम सुवालले जानकारी दिए ।




