जुम्लाको तापक्रम ४.७ पुगेसँगै जनजीवन प्रभावित

`

     २०७९ पौष १७ गते ११:३३

काठमाडौँ, १७ पुष । एक सातादेखि बढेको चिसोले हिमाली जिल्ला जुम्लालगायत माथिल्लो कर्णालीमा रुघाखोकीका बिरामी बृद्धि हुन थालेका छन् ।

चिसो बढेपछि अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ । अस्पतालमा उपचारका लागि पहिलाभन्दा यस याममा बढी बिरामी आउन थालेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका मेडिसिन विभागका डा राजेन्द्रमणि गिरीले जानकारी दिए ।

चिसोकै कारण यहाँका स्वास्थ्य केन्द्रलगायत प्रतिष्ठानमा ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरियाका बिरामीको सङ्ख्या बढेको छ । उनले भने, “सामान्य अवस्थामा औसतमा एक सय जना बिरामी उपचारका लागि आउने गरेकामा यो समयमा दैनिक दुई सय ९० जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन् ।”

लगातार बढ्दै गएको जाडोबाट बालबालिका, वृद्ध र सुत्केरी महिला बढी प्रभावित भएका छन् । बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको प्रतिष्ठानका डा गिरीको भनाइ छ । चिसो ह्वात्तै बढेपछि जुम्लालगायत माथिल्लो कर्णालीका हिमाली जिल्लाको जनजीवन कष्टकर बनेको छ ।

बिहानमा धैरै चिसो हुने गरेको छ । चिसोले सदरमुकाम खलङ्गामा चहलपहल घटेको छ ।

जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव सात र अधिकमत तापक्रम १३ दशमलव सात डिग्री सेल्सियस रहेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । चिसोबाट जोगिन दाउरा सङ्कलन गर्ने गरेको यहाँका स्थानीयवासी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?