वीरगन्जमा सोमबारदेखि धान खरिद सुरु, प्रत्येक किसानको न्यूनतम २५ देखि अधिकतम ६० क्विन्टलसम्म धान खरिद गर्ने
काठमाडौँ, पुस १२ । वीरगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखाले सोमबारदेखि धान खरिद सुरु गरेको छ ।
पर्सा बिन्दवासिनी गाउपालिका ३ झौवागुठीदेखि २५ क्विन्टल धान ल्याएर आइतबार बिहानै धान खरिद सुरु हुने प्रतीक्षामा बसेका ६० वर्षीय राजा हुसेनको अनुहार सोमबार धान खरिद सुरु भए पछि उज्यालिएको थियो । ‘म ३० घण्टादेखि यहाँ धान खरिद सुरु हुने प्रतीक्षामा बसेको छु,’ उनले भने, ‘यस वर्ष कम्पनीले निजि क्षेत्र भन्दा झन्डै ६ सय रुपैयाँ बढी मूल्य दिएर किनेकाले हामीलाई धेरै राहत भएको छ ।’
कम्पनी वीरगन्ज शाखाले यस वर्ष सोना मन्सुली धान १० हजार र जिरा मसिनो धान २ हजार क्विन्टल गरी १२ हजार क्विन्टल खरिदको कोटा पाएको छ । गत वर्ष शाखाले १७ हजार क्विन्टल सोना मन्सुली धान खरिद गरेको थियो । यस वर्ष सोना मन्सुली धान प्रति क्विन्टल ३ हजार १ सय २८ रुपैयाँ र जिरा मसिनो धान प्रति क्विन्टल ३ हजार २ सय ५० रुपैयाँमा शाखाले खरिद गरिरहेको छ । शाखा प्रमुख विकास कटुवालले प्रत्येक किसानको न्यूनतम २५ देखि अधिकतम ६० क्विन्टलसम्म धान खरिद गर्ने नीति रहेको बताए ।
त्यसका लागि किसानले आफ्नो नागरिकता प्रमाणपत्रको नक्कल, स्थानीय पालिकाको कृषि शाखाको सिफारिस र जग्गाको लालपुर्जाको नक्कल समेत अनिवार्य रूपमा ल्याउनुपर्ने छ ।




