काठमाडौं, पुस ५ । अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रूड अमेरिकाको राजदूतमा नियुक्त भएका छन्।
अस्ट्रेलियाका २६औं प्रधानमन्त्री केभिन रूडले आर्थर सिनोडिनोसको स्थानमा आगामी मार्च महिनादेखि अमेरिकी राजदूतको रूपमा कार्यभार सम्हाल्नेछन्।
हाल एसिया सोसाइटीको अन्तर्राष्ट्रिय सम्बन्ध संस्थाको प्रमुख रहेका रूडले आफूलाई यो अवसर दिएकोमा अष्ट्रेलियन सरकारलाई धन्यवाद दिएका छन्।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले पूर्व प्रधानमन्त्री केभिन रुडले राजदूत नियुक्तिलाई स्वीकारेर ठूलो सहयोग गरेको प्रतिक्रियासमेत दिएका छन्।
प्रधानमन्त्री एन्थोनी अल्बानीजले रुडसँग अमेरिकामा व्यापक अनुभव र सम्बन्ध रहेको भन्दै यसले आगामी दिनमा अष्ट्रेलिया र अमेरिकाबीच थप सम्बन्ध विस्तार हुने आशा राखे।
विगत एक दशकको अधिकांश समय अमेरिकामा बिताएका उनले अमेरिकी राजनीतिज्ञ र व्यवसायीसँग काम गरेका छन्।
‘केभिन रूड एक उत्कृष्ट नियुक्ति हो, उनले यो नियुक्तिमा सहमत भएर अष्ट्रेलियालाई ठूलो सहयोग गरेका छन्,’ प्रधानमन्त्री अल्बानीजले भने।




