काठमाडौँ, पौष ४ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्वतन्त्र प्रेस सधैँ सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको तेस्रो साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उनले लोकतन्त्रका लागि स्वतन्त्र प्रेस अपरिहार्य भएको बताए ।
सरकार सधैँ स्वतन्त्र प्रेसका पक्षमा रहेको बताउँदै उहाँले बन्ने कानुन पनि प्रेसमैत्री हुनुपर्नेमा जोड दिए ।
गण्डकीमा सञ्चार विधेयक ल्याउनका लागि तयारी भए पनि यस कार्यकालमा सम्भव हुन नसकेको बताउँदै उनले विधेयकलाई प्रेसमैत्री बनाउने कुरामा आफू निरन्तर लागिरहेको जानकारी दिए ।




