काठमाडौँ, पौष १ । राष्ट्रपति जो बाइडेनले आगामी वर्ष अफ्रिकी राष्ट्रहरूको भ्रमण गर्ने घोषणा गरेका छन् । अमेरिकी–अफ्रिकी नेताहरूको शिखर सम्मेलनलाई समापन गर्दै उनले उक्त घोषणा गरेका हुन् ।
राष्ट्रपतिले भ्रमणको घोषणा गरेपनि त्यसलाई औपचारिक भ्रमणसूचीमा समावेश गरिएको छैन । विकासको पथमा अग्रसर भइरहेको अफ्रिकी महादेशप्रति आफ्नो ध्यान केन्द्रित रहेको बताउँदै उनले अफ्रिकी राष्ट्रहरूलाई सक्दो सहयोग गर्ने दृढता पनि व्यक्त गरे । दश वर्ष यता अमेरिकी राष्ट्रपतिबाट अफ्रिकाको औपचारिक भ्रमण भएको छैन ।
आगामी वर्ष राष्ट्रपतिबाट निजी भ्रमण हुनसक्नेछ । उहाँले सम्मेलनमा सहभागी ४९ देशका सरकार वा राष्ट्रप्रमुखसमक्ष भ्रमण गर्ने प्रतिबद्धता जनाएका हुन् ।
अमेरिकाको तुलनामा चीनले अफ्रिकी देशहरूमा अधिक व्यापार गरिरहेको तथा सैन्य उपस्थिति पनि बढाउने प्रयास गरिरहेका बेला अफ्रिकी नेतासँग बाइडेन प्रशासनले शिखर सम्मेलन आयोजना गरेको हो । अफ्रिकी राष्ट्रहरूसँग अमेरिकी सम्बन्ध विस्तार गर्ने उद्देश्यले सन् २०१४ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले अफ्रिकी नेताहरूको शिखर सम्मेलन आयोजना गरेका थिए । उक्त सम्मेलन सोही उद्देश्य प्राप्तिका निम्ति राष्ट्रपति बाइडेनले यो वर्ष आयोजना गरेका हुन् ।
विश्वका शक्ति राष्ट्रहरूका लागि अफ्रिकी मुलुकहरू प्राकृतिक स्रोतका साथै संयुक्त राष्ट्रसङ्घमा मत प्राप्त गर्न महत्वपूर्ण मानिन्छन् ।
टर्की र चीनका लगानीकर्ताले नाइजरमा लगानी बढाइरहेका बेला अमेरिकाले पनि त्यसो गर्नसक्ने नाइजरका राष्ट्रपति मोहम्मद बजुमले बताएका छन् ।




