काठमाडौँ, मङ्सिर २९ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कूल ४ हजार २८५ उम्मेदवारको धरौटी जफत हुँदा निर्वाचन आयोगलाई २ करोड ९६ लाख ९० हजार रुपैयाँ आम्दानी भएको छ ।
पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत उम्मेदवारले मनोनयन दर्ता गर्दा प्रतिनिधिसभा सदस्यको लागि १० हजार रुपैयाँ धरौटी राख्नुपर्ने नियम छ। प्रदेश सभा सदस्य पदका उम्मेदवारले ५ हजार रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था छ ।
तर, महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुने, कुनै उम्मेदवारको २ वटा मनोनयन पत्र दाखिला भएको अवस्थामा एउटा मनोनयन पत्रको लागि मात्र धरौटी राख्नु पर्ने आयोगले उल्लेख गरेको छ।




