काठमाडौँ, २६ मंसिर । सर्लाहीका चिनी मिलहरुले समयमै भुक्तानी नदिएपछि जिल्लाका उखु उत्पादक किसानहरु सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । जिल्लामा रहेका तीन वटा उखू मिल मध्य हरिवन नगरपालिका ११ स्थित रहेको इन्दु शंकर चिनी उद्योग बाहेक अन्नपुर्ण र महालक्ष्मी सुगर मिलले समयमै उखु उत्पादक किसानहरुको भुक्तानी नदिएपछि हैरान भएका जिल्लाका किसानहरुले उत्पादन गरेको उखु सक्खर उद्योगलाई बेच्न थालेका हुन् ।
जिल्लामा रहेका चिनी मिलहरु पनि समयमा सञ्चालन नहुने र उखु बेचेको लामो समय सम्म पनि भुक्तानी नपाउने चिन्तामा रहेका जिल्लाका किसानहरुले स्थानिय सक्खर उद्योगहरुलाई आफुले उत्पादन गरेको उखु समयमै बेचेर खाली भएको जमिनमा मुसुरो,गहुँ र धनियाँ लागउने गरेका सक्खर उद्योग सन्चालक बताउछन् ।
उखु उत्पादक किसानहरुले उत्पादन गरेको उखु उद्योगको भन्दा कम मूल्यमा भएपनि सक्खर उद्योगलाई बेच्न थालेका छन । किसानहरुले खेतमा लगाएको उखुु बेचेर पुन मुसुरो,धनियाँ र गहुँ लगायतका बाली लगाउन सकिने भएकाले हतार–हतारमा उखु सक्खर उद्योगलाई बेच्ने थालेका हुन् ।




