काठमाडौँ, मङ्सिर २५ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विद्यमान ऐन र नियमविपरीत भाडादर वृद्धि गरेको विरोध गर्दै नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले भाडादर तत्काल फिर्ताको माग तालाबन्दी गरेको छ ।
महासंघले औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा आज तालाबन्दी गरेको हो । असमान अन्यायपुर्ण तथा विभेदकारी भाडाबृद्धि खारेज गर, सबै उद्योगमा एकल भाडा दर कायम गर, वार्ता र सहमतिमा नयाँ भाडा दर निर्धारण गर भन्ने माग महासंघको रहेको छ ।
निर्यात प्रवर्द्धन गर्ने र राज्यले पनि उद्योग सञ्चालनमा सहजीकरण गर्नुपर्ने जिम्मेवारी लिएको निकायले नै जिम्मेवारीबाट पन्छिँदै उद्योगीमाथि भार थोपर्ने कार्य गरेको भन्दै महासंघले विरोध जनाएको हो ।
औद्योगिक प्रवर्द्धन एजेन्सीको रूपमा काम गर्नुपर्ने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उद्योग नै चल्न नसक्ने गरी भाडावृद्धि गरेको ठहर महासंघको छ । महासंघको सहमतिविपरीत २०७५ सालमै सञ्चालक समितिले ७०० प्रतिशतसम्म भाडा बढाएको र अहिले कार्यान्वयन गर्ने भन्दै २०७९ साउन २ गते भाडावृद्धिको लाखौंको बिल उद्योगहरूमा पठाएको भन्दै महासंघले विरोध गरेको हो ।




