काठमाडौँ, मंसिर २३ । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरु भएको छ । शुक्रवार खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको खानेपानी पुनः वितरण शुभारम्भ गरेका हुन् ।
शुभारम्भ कार्यक्रममा बोल्दै उनले काठमाडौंवासीलाई १२ महिना नै अस्थायी रुपमा भएपनि पानी खुवाउने प्रतिवद्धता जनाए। मेलम्चीको खानेपानी आजबाट तेस्रो पटक पुनः वितरण सुरु भएको हो ।
आयोजना कार्यान्वयन निर्देशनालयले नयाँ निर्माण गरेको भण्डारण पोखरी र पुरानो पानी भण्डारण पोखरीबाट पानी वितरण शुरु गरेको हो । जसअनुसार महांकाल पानी पोखरीबाट ८५ लाख लिटर, ललितपुर खुमलटार नयाँ पोखरीबाट १ करोड ९० लाख लिटर, बालाजु पुरानो पोखरीबाट ३६ लाख, कीर्तिपुर नयाँ पोखरी ६० लाख, टिगानी मध्यपुर थिमी नयाँ पोखरीबाट ३० लाख, कटुञ्जे भक्तपुर नयाँ पोखरीबाट ६० लाख, बाँसबारी महाराजगञ्ज पुरानो पोखरीबाट २० लाख, पानी पोखरी महाराजगञ्ज नयाँ पोखरीबाट ४५ लाख, मिनभवन पुरानो पोखरीबाट ३० लाख लिटर र अनामनगर पुरानो पोखरीबाट २७ लाख लिटर गरी कुल ५ करोड ८३ लाख लिटर पानी वितरण हुनेछ ।
कार्यक्रममा बोल्दै खानेपानी लिमिटेडका उपकार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीले हाल काठमाडौं उपत्यकामा खोनेपानीको माग दैनिक ४३ करोड लिटर भए पनि आपूर्ति करिव १२ करोड लिटर रहेको बताए । उनले मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी थप हुँदा पनि दैनिक मागलाई भने सम्बोधन गर्न नसकिने बताए।




