काठमाडौँ, मंसिर ८ । काठमाडौं महानगरभित्र भएका सहकारीहरुमा आफ्नो रकम जोखिममा परेको भन्दै सर्वसाधारणबाट उजुरी आउने क्रम बढेकाले नियमित अनुगमन गर्नु परेको काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताइन् ।
सहकारीको नियमित अनुगमनका लागि कार्यपालिकाअन्तर्गत सहकारी समिति गठन गर्ने पनि उनले बताइन् ।
विभागले अहिले १ सय १८ वटा सहकारीको उजुरी सुनुवाई गरिरहेको छ । जसमध्ये ७१ वटा आफैं हेरिरहेको छ भने ४७ वटालाई कारबाहीका लागि प्रहरीमा पठाएको छ । आफैं हेरिरहेको सहकारीका उजुरीहरुमा बचत फिर्ता, ब्याज मिलान, लिलाम व्यवस्थापन, अध्यक्षको मनोमानी कारोबार, स्टेटमेन्टमा कम रकम उल्लेख गरेको, साधारण सभा नबोलाएको, कार्यसमिति विवाद, लेखा समिति विवाद, ऋण असुली लगायत विषय रहेको महानगरले जनाएको छ।
हाल काठमाडौं महानगरपालिका क्षेत्रमा १ हजार ९ सय ५५ वटा सहकारी छन् । तीमध्ये १ हजार ६ सय २८ वटा बचत तथा ऋण सहकारी हुन् । २ सय ६४ वटा बहुउद्देश्यीय, १५ वटा कृषि, १३ वटा उपभोक्ता, ३ वटा सीपमुलक, २ वटा शिक्षामूलक, एउटा सञ्चार, ३ वटा श्रमिक, पर्यटन, साझा र चियाका एकरएक वटा र अन्य ५ वटा सहकारी छन् ।



