काठमाडौँ, कार्तिक २८ । डोल्पा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । ५ वर्षअघि डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै प्रत्येक वर्ष डोल्पा घुम्ने स्वदेशी तथा विदेशी पर्यटकको संख्या पनि बढ्दै गएको हो ।
निलो हिराको रूपमा परिचित नेपालकै गहिरो से–फोक्सुन्डो ताल, प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर, से–गुम्बा, धो उपत्यका, छार्काभोट, जगदुल्ला ताल प्रमुख पर्यटकीय गन्तव्य हुन् ।
साउनयता मात्रै दुई हजार चार सय ९२ जना पर्यटकले से–फोक्सुन्डो तालको अवलोकन गरेको से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए ।
‘अघिल्लो वर्ष तीन हजार पर्यटकले फोक्सुन्डो घुमे, यो वर्ष पाँच सय घटे, सजिलो र स्तरीय सडक सुविधा, सञ्चार र होटेलहरूको राम्रो सुविधा हुने हो भने पर्यटकको ओइरो लाग्छ,’ उनले भने ।
डोल्पा धार्मिक सांस्कृतिक र पर्यटकीय सौन्दर्यताका हिसाबले धेरै अगाडि रहेकाले धेरै मान्छेहरूले डोल्पा घुम्ने चाहना राख्ने गरेको उनको भनाइ छ ।




