बारा,कात्तिक १९ । राष्ट्रिय आविष्कार केन्द्रको प्राविधिक टिमले वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनको तयारी गरेको छ । ३ दशकदेखि बन्द रहेको वीरगञ्जस्थित कृषि औजार कारखाना पुनःं सञ्चालनमा आउने भएको हो । आविष्कार केन्द्रको १६ जना प्राविधिक टिमले ४ दिनदेखि कारखानामा दैनिक १२ देखि १६ घन्टा खटेर पुराना मेसिन सरसफाइ गर्ने, चल्नसक्ने र फाल्नुपर्ने मेसिनहरु छुट्याउने, विद्युतीकरणको अवस्था र कारखाना सञ्चालनका लागि तत्काल लाग्ने लागतको विषयमा प्रारम्भिक अध्ययन सुरु गरेको छ । असोज ११ गते नेपाल सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच भएको सम्झौताका आधारमा कारखाना सञ्चालनको सम्पूर्ण जिम्मा सरकारले राष्ट्रिय आविष्कार केन्द्रलाई दिने निर्णय गरेको हो ।
नेपाल सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच भएको सम्झौता अनुसार आविष्कार केन्द्रले कारखानाको अवस्थाबारे २ साताभित्र सरकारलाई प्रतिवेदन बुझाउने र सोही आधारमा काम अगाडि बढाउने जनाएको छ । ‘अहिले हामी प्रारम्भिक काममा छौँ, अहिले कारखाना के कस्तो अवस्था छ ? मेसिन सञ्चालन गर्न मोटामोटी खर्च कति लाग्छ ?चल्ने खालका र फाल्नुपर्ने मेसिनहरु के के छन् ?त्यसको लगत निकालेर करिब २ हप्ताभित्र एउटा रिपोर्ट सरकारलाई बुझाउँछौँ र त्यो रिपोर्टको आधारमा केही दिन सरकारको निर्देशन कुर्छौं र निर्देशन आउन ढिलो भयो भने दोस्रो चरणमा ठुला मेसिनहरु पुरै खोलेर सरसफाइ गर्ने काम सुरु गर्छौँ’ आविष्कार केन्द्रका प्रमुख महावीर पुनले भने ।
महावीर पुनका अनुसार कारखाना सञ्चालनका लागि राख्नुपर्ने पुराना मेसिनहरु मर्मत सम्भार गर्न रातदिन खट्दा पनि ८र१० महिना लाग्छ । ‘हामी सकभर १ वर्ष नपुग्दै यहाँ भएका पुराना कृषि औजारमध्ये १०र१५ प्रकारका औजार पहिलो चरणमा उत्पादन गर्ने तयारीमा छौँ,’ उनले भने । पहिलो चरणमा ८ देखि १० महिनाभित्रका कुटो, कोदालो, कैची, बेल्चादेखि धान झार्ने मेसिन र अन्य हातले चल्ने साना मेसिनहरुको उत्पादनको काम सुरु गर्ने केन्द्रले जनाएको छ । दोस्रो वर्षदेखि भने सरकारको आर्थिक सहयोगमा कारखानामा आधुनिक टेक्नोलोजी भित्र्याउने र नाफामुलक ढंगबाट उत्पादन क्षमता बढाउने जनाइएको छ ।
तत्कालीन सोभियत संघ सरकारको सहयोगमा नेपालको कृषि क्षेत्रलाई आवश्यक पर्ने सबै किसिमका उपकरण स्वदेशमै उत्पादन गर्ने उद्देश्यले २०२४ सालमा वीरगञ्ज कृषि औजार कारखानाको स्थापना भएको थियो । १० बिगाहा क्षेत्रफलमा रहेको कारखानाले देशका विभिन्न स्थानमा बिक्री डिपो र डिलर राखेर कृषि औजार र यन्त्रहरु आपूर्ति गर्दथ्यो । वायुसेवा निगम, नेपाल टेलिकम, विद्युत प्राधिकरण, दुग्ध विकास संस्थानको दूध बोक्ने टयाङ्की लगायतलाई पनि आवश्यक सामान यहीँ निर्माण हुन्थ्यो । तर ०४६ सालको राजनीतिक परिवर्तनसँगै कृषि औजार कारखाना धरासायी भयो । २०५९ सालदेखि कारखाना पूर्ण रुपमा बन्द भएको हो । उत्पादकत्व बढाउन एवं कारखानालाई नाफामा सञ्चालन गर्न सरकारी उद्योगलाई निजीकरण गर्ने योजना अनुरूप २०५४ सालमा कारखाना निजीकरणमा गयो । कारखानाको ६५ प्रतिशत शेयर बिक्री गरेर सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिइएको थियो तर त्यो पनि सफल हुन सकेन ।
३० वर्षदेखि बन्द भए पनि बन्द कोठाभित्र भएको कारण कृषि औजार कारखानाका ५० प्रतिशत औजारहरु तत्कालै प्रयोग गर्न मिल्ने खालको भएको अविष्कार केन्द्रले जनाएको छ । ‘५० प्रतिशत औजारहरु त अहिले नै चल्छ, अलिअलि मर्मतसम्भार गर्दा ७० देखि ७५ प्रतिशत औजार प्रयोग गर्न सकिन्छ,’ अविष्कार केन्द्रका प्रमुख पुनंले भने, ‘नेपाललाई खाद्यमा स्वावलम्बी बनाउने हो भने कृषिलाई मेसिनीकरण गर्नैपर्छ, त्यसका लागि के के गर्नपर्छ भन्ने कुराको योजना दोस्रो वर्षदेखि बन्दै जान्छ ।’
पुराना मेसिनहरुको मर्मत सम्भार गरेर तत्काल कारखाना सञ्चालनका लागि ८ देखि १० करोड आवश्यक पर्ने आविष्कार केन्द्रले जनाएको छ । ‘इन्जिनियरिङ्ग इस्टिमेट हुन बाँकी छ तर, तत्काललाई ८र१० करोड भयो भने मर्मतसम्भारको काम र ३० वर्षअघि जुन अवस्थामा कारखाना बन्द भएको थियो, त्यो अवस्थामा चल्न सक्ने स्थितिसम्म ल्याउन सकिन्छ,’ पुनले भने । कृषि औजार कारखाना व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी राष्ट्रिय आविष्कार केन्द्रलाई दिए पनि सम्पत्तिको स्वामित्व भने नेपाल सरकारकै रहनेछ । व्यवस्थापन गर्ने जिम्मा आविष्कार केन्द्रलाई दिए पनि कारखाना मर्मतसम्भारमा सामान्य खर्च मात्रै नेपाल सरकारले गर्ने सम्झौतामा उल्लेख छ ।
‘अलिअलि ममर्तसम्भारमा सहयोग गर्ने र त्यसपछि आविष्कार केन्द्रले चलाउने भन्ने १० वर्षको लागि साधारण एक पेजको सम्झौता छ,’ पुनले भने ।१० वर्षका लागि गरिएको सम्झौतामा सरकारले गर्ने खर्चको विषयमा रकम नतोकिएको केन्द्रले जनाएको छ । ३० वर्षदेखि बन्द कृषि औजार कारखानाभित्रका पुराना औजारहरु सरसफाईमा आफै खटिएका महावीर पुनले आफू मूर्ख मान्छे भएकोले मात्रै कारखाना सञ्चालन गर्ने आँट गरेको टिप्पणी गरेका छन् । ‘यो कारखानाको हालत हेरेर यसलाई सञ्चालन गर्छु भन्ने मान्छे मूर्ख मान्छे हुन्छ, जो मान्छे मूर्ख छैन, त्यसले आँट गर्दैन,’ उनले भने, ‘म आफू मूर्ख मान्छे भएकोले मात्रै आँट गरेको हुँ ।’ आँट गरेको मान्छे आफै खट्नुपर्ने उनको भनाइ छ । त्यसैले यो काममा आफू पनि खटिरहेको उनले बताए । उनले भने, ‘मेरो भूमिका सबैलाई हौसला दिने हो, अनुरोध गर्ने हो, यहाँ जति पनि सहयोग गर्न आइरहेका छन्, ती सबै स्वेच्छाले आएका छन्, हामी कसैलाई करकाप गरेर काममा लगाउँदैनौँ ।’