एआई मानव जगतका लागि परमाणु हतियार भन्दा पनि खतरनाक,सर्वाधिक विध्वंसकारी शक्ति बन्ने – एलन मस्क

`

     २०८० कार्तिक १७ गते ६:३४

काठमाडौं,शुक्रबार, १७ कात्तिक २०८० । अमेरिकी खर्बपति व्यापारी एलन मस्कका अनुसार एआईले सबैको जागिर खाइदिनेछ । लन्डनमा एआई सम्मेलनमा बोल्ने क्रममा टेस्ला, स्पेश एक्स, एक्स र एआई स्टार्ट अप एक्सआईका हाकिम मस्कले यस्तो बताएका हुन् । उनका अनुसार एआई इतिहासकै सर्वाधिक विध्वंसकारी शक्ति बन्ने सम्भावना छ । पहिलो पटक बुद्धिमान मान्छे भन्दा पनि बुद्धिमान चिज मानिससँग हुने बेलायत ल्यानकाष्टर हाउसमा आयोजित सो सम्मेलनमा मस्कले भने ।अहिले सारा विश्व कृत्रिम बौद्धिकता अर्थात् एआईले मानव जगतमा निम्त्याउने खतराबारे चिन्तित छ । आगामी केही वर्षमै यसले विश्वभरबाट करोडौं जागिर खाइदिँदैछ । यसको प्रयोगले मानव सभ्यता नै मेटिन सक्ने चिन्ता विज्ञहरुले व्यक्त गरिरहेका छन् ।

मस्कले स्थिति कस्तो होला भनेर ठ्याक्कै बताउन मुश्किल भएपनि जागिरै नचाहिने स्थिति आउने बेलायती प्रधानमन्त्री ऋषी सुनाकसँगको अन्तरवार्तामा भनेका छन् । ‘व्यक्तिगत सन्तुष्टिका लागि तपाई जागिर खान सक्नु हुन्छ । तर एआईले सबै काम गर्न सक्षम हुनेछ,’ उनले भने । यो स्थिति मान्छेका लागि सहज वा अप्ठ्यारो के होला भनेर आफूलाई थाहा नभएको पनि मस्कले बताए । उनको यो कुरा सुनेर अन्तरवार्ता सुनिरहेका दर्शकहरु गलल्ल हाँसेका थिए ।

एलन मस्कले एआईलाई मानिसका हरेक राम्रा नराम्रा इच्छा पूरा गरिदिने चमत्कारी जिनीसँग तुलना गरेका थिए । के कुरामा जीवनको अर्थ खोज्ने भन्ने भविष्यमा मान्छेको चुनौती हुने पनि उनले बताए । मस्कले बारम्बार एआईले मानव सम्भयतामा निम्त्याउन सक्ने खतराबारे चेतावनी दिएका छन् । मस्कले एक पटक एआई मानव जगतका लागि परमाणु हतियार भन्दा पनि खतरनाक हुन सक्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?