आजदेखि दर्ता नभएका मोबाइल फोन नचल्ने

`

     २०८० कार्तिक २० गते ८:३५

काठमाडौं, कात्तिक २०,सोमबार । नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारदेखि एमडिएमएस प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने बताएको छ। यो प्रणाली लागु भएपछि प्रणालीमा दर्ता नभएका फोनहरू क्रमश ब्लक हुने प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले जानकारी दिएका छन्। उनका अनुसार एमडिएमएस लागू भएसँगै अवैध वा गैरकानुनी रूपमा भित्र्याइका मोबाइलमा कुनै पनि सिमकार्ड चल्ने छैन। ती फोनहरू ब्लक हुनेछन्।

दूरसञ्चार प्राधिकरणले गत कात्तिक ४ गते मात्रै एक सूचना जारी गर्दै १५ दिनभित्र सेवाग्राहीहरूलाई एमडिएमएसमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरू दर्ता गर्न भनेको थियो। सूचना जारी गरेको मितिबाट १५ दिनभित्र प्रणालीमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरूमा नियमानुसार मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुने समेत जनाएको थियो। सोही अनुसार प्राधिकरणले आजदेखि एमडिएमएस लागू गर्न लागेको हो। प्राधिकरणका अध्यक्ष खनालका अनुसार सुरूमा (हाइ रेन्ज)का मोबाइल ह्यान्डसेटमा यो लागू हुनेछन्। यसमा एक लाखभन्दा महँगा फोनहरू पर्नेछन्। प्रणालीमा दर्ता नभएका ह्यान्डसेटहरू क्रमशः दैनिक रूपमा ब्लक गर्दै जाने उनले बताए।

प्राधिकरणले नेपाल भित्रिने हरेक मोबाइलको आइएमइआई नम्बर दर्ता गर्न अनिवार्य गरेको हो। वैध रूपमा अर्थात् सरकारलाई भन्सार तिरेर भित्र्याइएका फोनको आइएमइआई नम्बर प्राधिकरणमा दर्ता गरिएको हुन्छ। यस्ता फोन स्वतः एमडिएमएस प्रणालीमा पनि दर्ता हुन्छन्।

आफ्नो फोन एमडिएमएसमा दर्ता भएको छ वा छैन भन्ने एमडिएमएसको आधिकारिक पोर्टल https://mdms.nta.gov.np/मा गएर हेर्न सकिन्छ साथै यसका लागि आवश्यक मोबाइलको आइएमइआई नम्बर किप्याडमा गएर ८३०६३ डायल गरेर पत्ता लगाउन सकिन्छ। ह्यानडसेट नयाँ छ भने त्यसको आइएमइआई नम्बर प्राधिकरणको वेबसाइट https://eir.nta.gov.np मा गएर दर्ता गर्न सकिन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?