टिकटक पुन सञ्चालन गर्न नेपाल सरकारसँग टिकटकको आग्रह, सहकार्य गर्न तयार छौँ

`

     २०८० मंसिर ०१ गते ८:२१

काठमाडौं, शुक्रबार, मंसिर १, २०८० ।  नेपालभर सरकारले टिकटकलाई प्रतिबन्ध लगाएपछि नेपालभित्रैबाट त्यससम्बन्धमा फरक–फरक प्रतिक्रिया आइरहँदा टिकटकले पनि दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ । टिकटकले सरकारको उक्त निर्णयप्रति असहमति जनाउँदै सात बुँदे पत्र पठाएको हो । साथै सरकारी निकायहरूसँग भएका समझदारी र नेपालमा भएका छलफलहरूलाई पनि टिकटकले स्मरण गराएको छ ।

दक्षिण एसियाको टिकटकको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई सम्बोधन गर्दै सात बुँदे पत्र पठाएका हुन् । सरकारले गत सोमबार टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यसपछि प्राधिकरणको निर्देशनमा नेपालभर टिकटक नचल्ने बनाइएको छ । तर, प्रयोगकर्ताहरूले विभिन्न विकल्पको प्रयोग गरी त्यसको प्रयोग भने गरिरहेको देखिएको छ । टिकटकमाथि सरकारले लगाएको प्रतिबन्धका सम्बन्धमा नेपालभित्रैबाट मिश्रित प्रतिक्रियाहरू आइरहेका छन् । यसै सम्बन्धमा सरकारको निर्णयले चकित भएको टिकटकले पठाएको पत्रमा उल्लेख छ । त्यस्तै टिकटकमाथि प्रतिबन्ध लगाइँदा नेपाली युवाहरूलाई आर्थिक रूपमा हानी हुने, प्रयोगकर्ताको सुरक्षा आफूहरूको सबैभन्दा महत्त्वपूर्ण प्राथमिकता भएको, नेपालमा डिजिटल सेवा करदाताका रूपमा दर्ता भएको टिकटकले उल्लेख गरेको छ । साथै नेपाल सरकारसँग सहकार्य गर्न तयार रहेको पनि टिकटकले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?