काठमाडौं, कात्तिक १४ । काठमाडौंका बानेश्वरमा सोमबार चुनावी अभियानका क्रममा मतदातासितको भेटघाटको क्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा राजनीतिक स्थायित्व कायम गरि बाँकी रहेका कार्यभार पूरा गर्न कांग्रेसले नै नेतृत्व गर्ने बताएका छन्। सत्ता गठबन्धनबाट काठमाडौं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिंहले मुलुकमा राजनीतिक अस्थिरताका कारण आम नेपालीको जीवन स्तरमा परिवर्तन आउन नसकेको बताए । अबको निर्वाचनले मुलुकलाई राजनैतिक स्थायित्व प्रधान गर्ने भएकाले यसतर्फ गम्भीरताका साथ सोच्न समेत मतदातालाई सिंहले आग्रह गरे ।
उनले भने,अवसर पाउँदा कसले के गरिरहेको छ? कुन राजनीति दल के गरिरहेको छ? कुन नेता के गर्दैछन् ? यी सब को लेखाजोखा गर्नुपर्छ । यसलाई हेरेर मतदान गर्दा विवेकपूर्ण निर्णय लिनुपर्छ । राजनीति अस्थिरताकै कारण सुशासन हुन नसकेको भन्दै भ्रष्टाचारले सीमा नाघेको उनको भनाइ छ । प्रशासनिक निकाय सिस्टममा नचल्दा भनसुन बिना काम हुन नसक्ने अवस्था बनेको सिंहले बताए ।




