कार्तिक ३, नयाँदिल्ली । राजनीतिमा युवा पुस्ता हाबी हुनुपर्ने आवाज बलियो गरी उठिरहेका बेला भारतमा कंग्रेसले भने आफ्नो नेतृत्व ८० वर्षीय खडगेलाई सुम्पेको छ । कर्नाटकका मल्लिकार्जुन खडगे कंग्रेस पार्टीको अध्यक्ष निर्वाचित भएका हुन् । दुई वर्षपछि हुने लोकसभा चुनावलाई समेत लक्षित गर्दै कंग्रेसले दलित अनुहारलाई अध्यक्षमा निर्वाचित गरेको हो । पार्टी चुनावमा गान्धी परिवारको साथ र समर्थन पाएका खडगेले आफ्ना प्रतिद्वन्द्वी शशि थरुरलाई ६ हजार ८ सय २५ मतले पराजित गरेका हुन् । पार्टी स्थापनाको १ सय ३७ वर्षको इतिहासमा छैटौं पटक अध्यक्ष पदका लागि चुनाव भएको हो । अधिकांश पटक सर्वसम्मत रूपमा अध्यक्ष चुनिँदै आएका छन् । कुल ९ हजार ९ सय पार्टी प्रतिनिधिमध्ये ९ हजार ५ सयले मतदान गरेका थिए । खडगेले ७ हजार ८ सय ९७ मत प्राप्त गरेका छन् । त्यहीं थरुरले १ हजार ७२ मत ल्याएका छन् । बाँकी भोट विभिन्न कारणले रिजेक्ट भएको थियो ।
अक्टोबर १७ मा प्रदेशहरूमा ३६ पोलिङ स्टेसनका ६७ बुथमा मतदान भएको थियो । प्रति २ सय प्रतिनिधिका लागि एक बुथ बनाइएको थियो । मतदान भएको पर्सिपल्ट अक्टोबर १९ बुधबार मतगणना हुने निर्धारित निर्वाचन कार्यक्रम थियो । त्यसका लागि मतदान सकिएपछि सबैतिरबाट मतपेटिका दिल्लीस्थित कंग्रेस पार्टी कार्यालयमा एक दिनभित्रै संकलन गरिएको थियो । बुधबार मतगणना हुनुपूर्व एउटा प्रदेशको मतपत्रलाई अर्कोसँग मिसाइएको थियो । ५०–५० मतपत्रको पकेट बनाएर गणना थालिएकोमा केही घण्टामै मत परिणाम आएको हो । सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)र स्वयं प्रधानमन्त्री नरेन्द्र मोदीले कंग्रेसमाथि वंशवाद र परिवारवादको आरोप लगाउँदै आएका छन् । तर खडगेको विजयसँगै भारतीय कंग्रेसको नेतृत्व २४ वर्षपछि गान्धी परिवारबाहिर आएको छ ।
आमाछोरा सोनिया र राहुलले सन् १९९८ देखि पार्टीको नेतृत्व सम्हाल्दै आएका थिए । २४ वर्षको अवधिमा २०१७ देखि २०१९ सम्म राहुल पार्टी अध्यक्ष थिए । राहुलको नेतृत्वमा पार्टीले २०१९ को चुनावमा हार व्यहोरेपछि उनले अध्यक्ष पदबाट राजीनामा दिएयता अन्तरिम अध्यक्षका रूपमा सोनियाले जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । पुनः अध्यक्ष बन्न पार्टीभित्रबाट राहुलमाथि ठूलो दबाब थियो । तर, उनले त्यसलाई स्वीकार नगरेपछि नेतृत्व गान्धी परिवारभन्दा बाहिर जाने वातावरण बनेको हो । खडगेको उम्मेदवारीलाई पार्टीभित्रका धेरैजसो वरिष्ठ नेताहरूको समर्थन प्राप्त थियो । त्यही थरुरले कतिपय प्रदेशमा पार्टीभित्रबाट पोलिङ एजेन्ट राख्न कार्यकर्तासमेत पाएनन् । पार्टीभित्र थरुर कतिपय मुद्दामा गान्धी परिवारभन्दा फरक राय राख्ने नेताका रूपमा चिनिन्छन् ।
सन् १९४२ को जुलाई २१ मा जन्मिएका मल्लिकार्जुन खडगे भारतीय कंग्रेसको ६५ औं पार्टी अध्यक्ष बनेका हुन् । कंग्रेसको लामो इतिहासमा उनी जगजीवन रामपछि दलित समुदायबाट पार्टीको नेतृत्व सम्हाल्ने दोस्रो व्यक्ति पनि बनेका छन् । भारत स्वतन्त्र भएयताका ७५ वर्षमा ४२ वर्ष पार्टीको नेतृत्व गान्धी परिवारले गरेको छ । ३३ वर्ष भने पार्टी नेतृत्व गान्धी परिवारभन्दा बाहिर गएको छ । त्यही सूचीमा खडगे पनि थपिएका छन् ।
दुई पटक सांसद र ९ पटक विधायक बनिसकेकका खडगे पहिलो पटक २०१९ को लोकसभा चुनावमा पराजित भएका थिए । कर्नाटक वरवाटी गाउँका खडगेको जीवन पीडादायी छ । उनी पाँच वर्षको हुँदा पाकिस्तान विभाजनको घटना भएको थियो । त्यसबेला गाउँमा भएको हिन्दु–मुस्लिम दंगामा हिंस्रक व्यक्तिहरूले उनकै अगाडि उनको आमालाई जलाएको घटना छ । अध्ययनपछि वकालतमा जोडिएका खडगे राजनीतिमा प्रवेश गर्दै कर्नाटकमा मन्त्री, सांसद र केन्द्रीय सरकारमा मन्त्री बनिसकेका छन् । सन् २०१४ को चुनावमा कंग्रेसले नराम्रो पराजय भोग्दै लोकसभामा ४४ सिटमा सीमित भएका बेला खडगे संसद्को नेता बनाइएका थिए । त्यसपछि राष्ट्रिय राजनीतिमा उनी अग्रस्थानमा आएका हुन् । गान्धी परिवारका विश्वासपात्रका रूपमा चिनिएका खडगेलाई लिएर कतिपय विश्लेषकले पार्टीको ‘रिमोट’ गान्धी परिवारमै रहने दाबीसमेत गरेका छन् ।
भारतीय दलमा आफ्नो नेतृत्व निर्वाचनबाट चयन गर्ने कंग्रेस एकमात्र पार्टी भएको जनाउँदै गान्धीले कंग्रेस हुनुमा गर्व रहेको बताएका छन् । कंग्रेस नेता राहुल गान्धीले पार्टी अध्यक्षले लिने निर्णयअनुसार नै सिंगो पार्टी चलायमान हुने बताएका छन् । उनले भाजपा वा अन्य कुनै क्षेत्रीय पार्टीमा नेतृत्वको चुनाव भएको नसुनिएका बेला कंग्रेसमा पारदर्शी तरिकाले निर्वाचन प्रक्रियाबाट अध्यक्ष चुनिनु निकै राम्रो खबर भएको दाबी गरे ।




