सरकारलाई महँगी नियन्त्रणमा ध्यान केन्द्रित गर्न मानवअधिकार आयोग आग्रह

`

     २०७९ आश्विन १३ गते १२:१७

काठमाडौँ,असोज १३ । राष्ट्रिय मानवअधिकार आयोगले चाडबाडको समयमा शान्ति सुरक्षा, आवतजावत र महँगी नियन्त्रणमा ध्यान केन्द्रित गर्न विज्ञप्ति जारी गरी तीन वटै तहका सरकारलाई आग्रह गरेको छ ।

‘सामान्य अवस्थामा भन्दा चाडबाडका समयमा सवारी साधनहरु पर्याप्त नचल्दा सर्वसाधारणलाई आवतजावतमा कठिनाई उत्पन्न भएको, यात्रुहरु तोकिए भन्दा बढी भाडा तिरी यात्रा गर्न बाध्य भएको, सवारी साधनहरुमा क्षमताभन्दा बढी यात्रुहरु राख्दा सवारीसाधनहरू दुर्घटनामा परी सर्वसाधारणहरूको ज्यानै समेत जाने गरेको तथा महँगी नियन्त्रण हुन नसक्दा उपभोक्ताहरू महँगीको मारमा परेको पाइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

‘यातायात र आवतजावतमा हुने कठिनाइको प्रभावकारी अनुगमन र निगरानी गर्न, संभावित दुर्घटना रोक्न विशेष सतर्कता अपनाउन, बजार अनुगमन तथा महँगी नियन्त्रण गर्न एवम् आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार चाडबाड मनाउने वातावरणको सिर्जना गरी साँस्कृतिक अधिकारको सुनिश्चितता गर्न आयोग तीनै तहका सरकार, सुरक्षा निकाय, निजी क्षेत्र, आमनागरिक तथा सम्बद्ध सबैमा अनुरोध गर्दछ,’ आयोगले विज्ञप्तिमा भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?