सोलुखुम्बु ,आश्विन ३ । आफूले क्रान्ति र शान्ति दुवैको नेतृत्व गरेर विश्वमै इतिहास कायम गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दाबी गरेका छन् । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा निर्मित भौतिक संरचनाको उद्घाटन गर्दै दाहालले संविधान कार्यान्वयनकै चरणमा रहेकाले अब तल्लो तहलाई अझ अधिकारसम्पन्न बनाउन आवश्यक ऐन निर्माण गर्न बाँकी रहेको बताए । ‘संघीय निजामती ऐन र सुरक्षा ऐन बनाउन बााकी छ, संविधानको सफल कार्यान्वयनमार्फत तल्लो तहलाई अधिकारसम्पन्न बनाउने ठूलो अभिभारा बााकी नै छ,’ उनले भने ।
संविधान दिवसको दिन आयोजित कार्यक्रममा उनले घुमाउरो पारामा फेरि एक पटक देशको कार्यकारी प्रमुख हुने संकेत गर्दै भने, ‘जनयुद्ध र शान्तिप्रक्रिया मेरै नेतृत्वमा सम्पन्न भयो, अब देशको विकास र समृद्धिको एक पटक नेतृत्व गर्ने उत्कट चाहना छ,’ दाहालले भने । उनले एक पटक नेतृत्व गर्ने चाहना भएको पनि बताए । ‘समाजवादी मुलुक नेपालको एक पटक नेतृत्व गर्ने चाहना छ, अब समाजवादमार्फत नै मुलुकलाई समृद्ध बनाउने हो,’ उनले भने । ‘जनयुद्ध’मार्फत सामन्तवादको अन्त्य गरी वर्तमान संविधान जारी गर्न सफल भएको दाहालको तर्क छ ।




