काठमाडौँ, २९ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा टिकट व्यवस्थापन गर्न पार्टी भित्र गाह्रो भइरहेको बताएका छन् ।
अध्यक्ष नेपालले चुनाव नलड्न पाएपछि हुन्थ्यो भन्नेहरुले पनि अहिले निर्वाचनका लागि टिकट लिन हानथाप गरिरहेको बताए । बुधवार काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा बोल्दै उनले उठेर दुई कदम पनि हिँड्न नसक्ने वृद्धहरुले समेत टिकटको आकांक्षा राखेको बताए ।
अध्यक्ष नेपालले ती आकांक्षीहरुमा टिकट नपाउँदा बेहोस् हुने होकि भन्ने चिन्ता आफूलाई लागेको पनि बताए ।
अध्यक्ष नेपालले पार्टीका नेता, कार्यकर्ताहरुलाई कुनै व्यवसाय वा रोजगारीमा जोडिन पनि पटकपटक सचेत गराए ।




