काठमाडौँ, भाद्र २४ । भारतले बासमती र उसिना बाहेक निर्यात हुने अन्य चामलमा २० प्रतिशत कर लगाएको हो । भारतीय खाद्य मन्त्रालयको सिफारिसपछि वित्तीय मन्त्रालयअन्तर्गत राजश्व विभागले धान र चामल निर्यातमा बिहीबार कर लगाउने निर्णय गरेको हो ।
भारतको प्रधानमन्त्री गरिब कल्याण योजनाका लागि पर्याप्त स्टक रहनुपर्ने जनाउँदै खाद्य मन्त्रालयले निर्यात कम गर्ने लक्ष्यस्वरुप २० प्रतिशत कर लगाएको हो । मौसम प्रतिकुलका कारण भारतभर यो वर्ष चामल उत्पादन करिब ७० लाख टन घट्ने अनुमान छ । विश्वमा धान उत्पादनमा भारत चीनपछिको दोस्रो ठूलो मुलुक हो ।
भारतले चामल निर्यातमा कर लगाएसँगै नेपालमा पनि चामलको भाउ बढ्ने भएको छ । नेपालमा वार्षिक करिब ५० अर्बको धान र चामल आयात हुने गरेको छ ।




