काठमाडौँ, भाद्र २२ । आगामी आमनिर्वाचनमा खटिने म्यादी प्रहरीले सामाजिक सञ्जालमा टीकाटिप्पणी तथा जथाभावी सामग्री राख्न र सेयर गर्न नपाउने गरी सरकारले मापदण्ड बनाएको छ । गृह मन्त्रालयले स्वीकृत गरेको ‘भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०७९’ मा म्यादीले ड्युटीको मर्यादा बाहिर गएर निर्वाचनसम्बन्धी धारणा राख्न र अनावश्यक सामग्री पोस्ट गर्न नपाउने उल्लेख छ ।
म्यादीले ड्युटीको समयमा मोबाइल फोन प्रयोग गर्न पाउने छैनन् । आफ्नो काम अरूलाई सुम्पिएर अन्यत्र हिँड्न वा भाग्न पनि पाइने छैन । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले म्यादी भर्ना भइसकेपछि तोकिएको अवधिभित्र मापदण्ड कडाइका साथ लागू गराउन प्रहरीलाई निर्देशन दिइसकेको जानकारी दिए । प्रहरी प्रवक्ता नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले गृहबाट स्वीकृत मापदण्डअनुसार भर्ना प्रक्रिया अघि बढाउन लागिएको बताए । मापदण्डविपरीत गतिविधि गरे म्यादीलाई तत्काल जिम्मेवारीबाट बर्खास्त गरिने मन्त्रालयले जनाएको छ ।
गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनका बेला आचारसंहिता र अनुशासनविपरीत गतिविधि गरेको आरोपमा करिब ५० म्यादी प्रहरीलाई कारबाही गरिएको थियो । ‘गत स्थानीय तहमा म्यादी प्रहरीबाट भएका आचरणविपरीतका गतिविधि दोहोरिन नदिन र सुरक्षा जिम्मेवारीमा प्रतिबद्ध भएर लाग्न सहयोग पुग्ने गरी मापदण्ड बनेको छ,’ प्रहरी प्रवक्ता राईले भने, ‘मापदण्ड र आचारसंहिताविपरीतका गतिविधि गर्नेलाई तत्काल बर्खास्त गरी कारबाहीको दायरामा ल्याइनेछ ।
आगामी निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न सरकारले प्रहरी प्रधान कार्यालयलाई स्वीकृति दिइसकेको छ । प्रहरीले १८ वर्ष पूरा भई ५४ वर्ष उमेर ननाघेका नेपाली नागरिकबाट म्यादी छनोट गर्न देशभरका जिल्ला प्रहरी कार्यालयमा भदौ ३० देखि असोज ६ सम्म आवेदन खुलाउँदै छ ।
२०७४ को प्रतिनिधि र प्रदेशसभा तथा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा म्यादीमा खटिएर सन्तोषजनक काम गरेका, सेना, प्रहरी र सशस्त्रबाट अवकाश तथा उपदानमा निस्किएका, पूर्ववन रक्षक, विदेशी सुरक्षा निकायमा काम गरी निवृत्त नेपालीलाई म्यादी भर्नामा प्राथमिकता दिइनेछ । त्यस्तै सुरक्षा निकायले मागेको रिक्त पदमा भदौभित्र आवेदन दिई शारीरिक स्वास्थ्य र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकालाई पनि प्रवेश पत्रका आधारमा म्यादी छनोटको प्राथमिकतामा राखिनेछ ।
म्यादी प्रहरीले तलबरभत्ता, रासन, खाजा खर्च लगायतमा एकमुष्ट ५० हजार १ सय ६० रुपैयाँ पाउने भएका छन् । स्थानीय तह निर्वाचनको तुलनामा म्यादीलाई करिब ६ हजार रुपैयाँ बढी दिन लागिएको हो ।
म्यादी प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०७९ अनुसार ४० दिनको कार्यावधि तोकेर म्यादीलाई तलबरभत्ता, यातायात खर्च, खाजा, पोसाक, रासनलगायत शीर्षकमा भुक्तानी दिइनेछ । म्यादीले प्रहरी जवानको आधारभूत तलबसरह दैनिक ८ सय ६९ रुपैयाँका दरले ४० दिनको ३४ हजार ७ सय ६०, रासन भत्ताबापत ७ हजार २ सय, पोसाक भत्तालाई ६ हजार, यातायात खर्चबापत एक पटकका लागि १ हजार र खाजा खर्चलाई ३ सय रुपैयाँका दरले ४ दिनको १ हजार २ सय गरी एकमुष्ट ५० हजार १ सय ६० रुपैयाँ पाउने भएका हुन् ।
हिमाली भेगमा खटिनेलाई ज्याकेट किन्न थप १ हजार रुपैयाँ उपलब्ध गराइनेछ । हिमाली भेगमा जिल्लाको रासन दरअनुसार म्यादीको रासन तय गरिन्छ । म्यादीमा नियुक्ति भएको ३० दिनपछि ५० प्रतिशत र बाँकी रकम अवकाशमा जानुअघि भुक्तानी दिइने मापदण्डमा उल्लेख छ । रासनबापत पाउने भत्ता नियुक्ति बुझेको १० दिनभित्र २० दिनको र बाँकी २० दिनको अवकाशमा जानुअघि उपलब्ध गराइनेछ ।
म्यादी प्रहरीका लागि अर्थ मन्त्रालयले ५ अर्ब ८६ करोड ३९ लाख ५० हजार रुपैयाँ व्यवस्था गरेको छ । जिम्मेवारी निर्वाह गर्ने क्रममा म्यादी घाइते भए सरकारले निःशुल्क उपचारको व्यवस्था गर्नेछ । मृत्यु भए नजिकको हकदारलाई सरकारले ‘तोकिएबमोजिम क्षतिपूर्ति उपलब्ध गराउने’ मापदण्डमा उल्लेख छ । कार्यावधिमा गैरहाजिर भए र बीचमा भागे कुनै सुविधा दिइने छैन ।
करार अवधिभन्दा अगावै छाड्ने अवस्था आए २० दिनभन्दा बढी काम गरेको भए कार्यरत रहेको दिनसम्मको सेवासुविधा दिइनेछ । किरिया बिदाबाहेक अब बिदा दाबी गर्न पाइने छैन । छनोट भएको म्यादी नियुक्तिका लागि तोकिएको भन्दा ३ दिन पछि आए र नियुक्ति बुझेर पनि २ दिनसम्म सम्पर्कमा नआए छनोट रद्द गरी वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिइनेछ ।
प्रहरी प्रधान कार्यालयले म्यादी भर्ना प्रक्रिया दसैंअगावै सक्ने गरी तालिका नै निर्धारण गरिसकेको छ । प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार भदौ २६ मा म्यादी भर्नाको सूचना प्रकाशन, भदौ ३० देखि असोज ६ सम्म म्यादी भर्ना आवेदन, असोज ९ देखि १४ सम्म छनोट गरेर असोज २५ मा नतिजा प्रकाशन गर्ने कार्यतालिका छ ।
छनोट भएका म्यादी प्रहरीलाई असोज २७ र २८ मा नियुक्तिपत्र वितरण गर्ने, असोज ३० बाट कात्तिक ८ सम्म तालिम दिने र कात्तिक ९ बाट नेपाल प्रहरी मातहत निर्वाचन सुरक्षा खटाउने तयारी छ । म्यादीलाई निर्वाचन सकिएको ४ दिनपछि मंसिर ८ मा प्रमाणपत्र दिएर बिदाइ गरिनेछ ।
निर्वाचन आयोगले निर्वाचनका लागि १० हजार ८ सय ८८ मतदान स्थल कायम गरेको छ । यो वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा कायम मतदानस्थलभन्दा १ सय ३२ ले बढी हो । गएको स्थानीय चुनावमा १० हजार ७ सय ५६ मतदान स्थल थिए ।
आगामी निर्वाचनमा २२ हजार ५ सयदेखि २३ हजारसम्म मतदान केन्द्र रहने आयोगको आकलन छ । मतदाताको अन्तिम टुंगो लागेपछि मात्रै मतदान केन्द्र तोकिने आयोगले जनाएको छ । निर्वाचनमा मतदान स्थल र केन्द्रको सुरक्षामा प्रहरी र म्यादी तथा बाहिरी सुरक्षा सेना र सशस्त्र प्रहरी बल (एपीएफ) परिचालन गरिनेछ । यससम्बन्धी सुरक्षा योजना केन्द्रीय सुरक्षा समितिबाट अनुमोदन हुन बाँकी छ ।




