काठमाडौँ, १४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले काभ्रेको भकुण्डेवेशीमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै जनताले आफूहरूमाथि गरेको विश्वासलाई धोका नदिने बताएका छन्।
मंसिर ४ मा हुने चुनावबाट ‘नेपाललाई ३ दशकदेखि बन्धक बनाइआएका दलहरू’लाई मुक्त गर्नुपर्ने लिङ्देनले बताए ।
‘एक रूपैयाँ भ्रष्टाचार गरेको कसैले प्रमाणित गरे म उसको नोकर भएर बस्न तयार छु,’ उनले भने, ‘थुक्क राप्रपा, राजेन्द्र लिङ्देन यो पनि चोर रहेछ भन्ने मौका तपाईंहरूलाई दिने छैन।’
उनले जनताका विश्वासमाथि कुनै कुथराघात नहुने बताए। भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर आफू हिँडेको उनको भनाइ थियो।
निष्ठा र संस्कारको राजनीति गर्ने संकल्प आफूले लिएको उनले बताए।




