अविरल वर्षाका कारण डुम्रे–बेँसीसहर सडकखण्ड पुनः अवरुद्ध

`

     २०७९ श्रावण १७ गते १०:५३

काठमाडौँ, साउन १७ । डुम्रे–बेँसीसहर सडकखण्ड पुनः अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको बाढी पहिराले गए रातिदेखि यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडा पहिराले सडक अवरुद्ध भएको हो ।

डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवं इञ्जीनियर पुरुषोत्तम अधिकारीका अनुसार वैकल्पिक सडकका रूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो खस्दा सडक अवरुद्ध भइरहेको छ ।

विगतमा ठूलो पहिरो गएकाले सोही पहिरो हुँदै लेदो आउदा पटक–पटक समस्या भइरहेको छ । सडक अवरुद्धका कारण बिहानैदेखि कुनै पनि सवारीसाधन सञ्चालन हुन नसकेको उक्त योजना कार्यालयले जनाएको छ । गत भदौ ११ गते र असारको पहिलो हप्ता आएको बाढीले सो सडकको देउरालीडाँडामा सडक बगाएको थियो । सडक अवरुद्धका कारण बेँसीशहरबाट काठमाडौं, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेँसीशहर आउने यात्रुहरूलाई समस्या हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?