डा.बाबुराम भट्टराईले नयाँ पार्टी गठन गर्ने तयारीमा रहेकै बेला सो पार्टीको तेस्रो धार भने अलमलमा

`

     २०७९ श्रावण ०४ गते ३:०५

काठमाडौं, साउन ४ । जनता समाजवादी पार्टी नेपालबाट कारवाहीमा परेका डा.बाबुराम भट्टराई नयाँ पार्टी गठन गर्ने तयारीमा रहेकै बेला सो पार्टीको तेस्रो धार भने अलमलमा देखिएको छ । जसपामा आन्तरिक विवाद उत्कर्षमा पुगेर अध्यक्ष उपेन्द्र यादव र तत्कालीन संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले अलगअलग बैठक आयोजना गर्दा तेस्रो धार तटस्थ रहेको थियो ।

जसपा अध्यक्ष यादव पक्षको बैठक मधेस प्रदेशको वीरगञ्जमा बस्यो भने संघीय परिषद् अध्यक्ष डा। भट्टराई पक्षको बैठक काठमाडौंको जडीबुटीमा आयोजना भएको थियो । उपेन्द्र यादव पक्षका २० जना कार्यकारिणी समितिका सदस्य उपस्थित थिए भने अध्यक्ष भट्टराईको पक्षमा बाबुराम भट्टराई, हिसिला यमी, महेन्द्र राय यादव, गंगानारायण श्रेष्ठ, डम्बर खतिवडा, प्रशान्त सिंह र रमेश यादव गरी सात जनामात्र थिए ।

पाँच जना कार्यकारिणी सदस्यहरु हेमराज राई, भक्तबहादुर शाह, रामनरेश राय यादव, दुर्गा सोव, राजकिशोर यादव र अमृता अग्रहरी तटस्थ बसे । उनीहरुले पार्टी विभाजन नहोस्, बरु जसपामै रहेर संघर्ष गरौं भन्दै दुवै पक्षलाई बैठक स्थगित गरी संवादबाट विवाद टुङ्ग्याउन आग्रह गरेका थिए । तर दुवै पक्षले बैठक स्थगित गर्न मानेनन् ।

तटस्थ बसेकामध्ये दुर्गा सोवलाई जसपाले कारवाही गरेको छ । जसपामा तेस्रो धारको रुपमा देखिएका उनीहरुले कुन पक्षमा जाने भनेर अहिलेसम्म निर्णय गरेका छैनन् । तेस्रो धारको नेतृत्व गर्दै आएका रामनरेश राय यादवले भने, ‘साथीहरुसँग छलफल जारी छ, चाँडै कुनै निष्कर्षमा पुग्छौं ।

पार्टीले कारवाही नगरेका कारण हालसम्म आफूहरु जसपामा नै रहेको बताउँदै उनले अझै पनि दुवै पक्षलाई मिलाउने प्रयास आफूहरुको रहेको प्रस्ट पारे । आफू तटस्थ बसेका कारण उपेन्द्र यादव र बाबुराम दुवै पक्षले सम्पर्क गरिरहेको उनको भनाइ छ । उनले दुवै पक्षलाई आफूले मिल्नका लागि सल्लाह दिइरहेको पनि सुनाए । उनीहरु नमिले अन्तिममा आफूहरुले कुनै निर्णय लिने उनले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?