काठमाडौं, असार २६ । आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्ने सहमहामन्त्री जीवन परियारले बताए । कांग्रेसले भ्रातृ संस्थाका विधानबारे केही समयदेखि पदाधिकारी बैठकमा छलफल गर्दै आएको छ।
नेता एनपी साउदको संयोजकत्वमा कांग्रेसले भातृ तथा शुभेच्छुक संस्थाका विधानबारे अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो । उक्त समितिले पार्टीमा प्रतिवेदन बुझाइसकेको छ। यो प्रतिवेदनमा केन्द्रित रहेर अन्तिम रूप दिनका लागि पदाधिकारी बैठक बस्ने भएको हो। कांग्रेसका अधिकांश भ्रातृ संस्थाले महाधिवेशन गर्न सकेका छैनन्।
केही नयाँ संस्था तथा शुभेच्छुकले भ्रातृ तथा शुभेच्छुक संस्थाको मान्यता दिनुपर्ने माग गरिहेका छन्। कांग्रेसले सोमबारका लागि केन्द्रीय कार्यसमिति बैठक राखेको छ।
उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पदाधिकारी बैठक बस्ने गरेको छ। यसअघि पदाधिकारी बैठकमा सभापति देउवा उपस्थित भएका थिएनन्।
कांग्रेसमा अहिले १३ भ्रातृ र १८ शुभेच्छुक संस्था छ। भ्रातृ संस्थामध्ये अधिकांश महाधिवेशन हुन नसकेर तदर्थ समितिका भरमा छन् । यस्तै कांग्रेसले ५ भ्रातृ तथा केही शुभेच्छुक संस्था थप गर्ने गृहकार्य पनि गरेको छ।




