काठमाडौँ, २४ असार । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ ।
देशको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको बेला उनीमाथि पछाडिबाट गोली प्रहार भएको हो । जापानका मिडियाहरुका अनुसार उनी बेहोस अवस्थामा छन् ।
उनलाई नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको छ भने उनको अवस्था गम्भीर रहेको बताएको छ । गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
आबेले सन् २०२० मा प्रधानमन्त्री पद छाडेका थिए । यद्यपि सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीमा उनी अझै पनि प्रभावशाली नेताको रुपमा रहेका छन् ।




