काठमाडौं, १७ असार । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान प्रकाश दाहालको शालिक अनावरण गरेका छन्। सगरमाथा आरोहण गरेका प्रकाश दाहाल(साकार) को शालिक नुवाकोटको ककनीमा निर्माण गरिएको हो। दाहालको शालिक नेपाल पर्वतारोहण संघले निर्माण गरेको हो । सोही शालिक प्रकाश दाहालको जन्मदिनको अवसर पारेर आज बिहान अनावरण गरिएको हो । शालिक राखिएको स्तम्भमा प्रकाश दाहालको जीवनीसमेत अंकित छ ।
प्रकाश दाहाल प्रचण्डको कान्छो सन्तान हुन् । २०७४ साल मंसिर ३ गते उनको निधन भएको थियो । २०६६ सालमा सुरु भएको लुम्बिनी–सगरमाथा अभियान अन्तर्गत २०६९ साल जेठ १३ गते कृष्ण केसी नेतृत्वमा प्रकाश दाहाल, विना मगर, सरल सहयात्री, युवराज दुलाल (शरद), शिव डाँगी लगायतले सगरमाथाको सफल आरोहण गरेका थिए ।




