काठमाडौँ, ९ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले टंकप्रसाद आचार्यले तत्कालीन समयमा छर्नुभएको पर्चाले नेपालको राजनीतिक जागरण र परिवर्तनमा महत्वपूर्ण योगदान दिएको बताएका छन् ।
टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले बिहीबार आयोजना गरेको विसं १९९७ असार ९ गते राणा शासनविरुद्ध छरिएको पहिलो पर्चा र विसं २००८ असार ३ गते गठन भएको ‘जनताको जातीय जनतान्त्रिक संयुक्त मोर्चा नेपाल’ विषयक संवाद कार्यक्रममा उक्त धारणा व्यक्त गरेका हुन् । ‘‘ मुलुकमा परिवर्तन ल्याउन टंकप्रसादले छर्नुभएको पर्चाको योगदान महत्वपूर्ण रहेको छ,’ उनले भने ।
‘टंकप्रसाद आचार्यलाई मुलुकको नेतृत्व दिइन्थ्यो भने उनले परिकल्पना गर्नुभएको मुलुक बन्दथ्यो,’ उनले भने ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले उद्देश्यलाई जीवित राखेर कम्युनिष्ट पार्टीको नाम परिवर्तन गर्न सकिने बताए । उनले भने, ‘देश ठूलो हो, देशका लागि हामीले काम गर्ने हो, हाम्रा उद्देश्य समृद्ध नेपाल र सुखी नेपाली हुनुपर्दछ ।’




