काठमाडौं, असार ५ । विवादित बनेको अमेरिकी स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न सर्वदलीय बैठक बोलाइने भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानीमा गठबन्धनका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई सर्वदलीय बैठक बोलाएर यसबारे यथार्थ जानकारी गराउनुपर्ने बताएका थिए ।
नेताहरुको सुझावमा प्रधान देउवा सहमत भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए । एसपीपी बारे अहिले अन्योल छ । यसको वास्तविकता के हो भन्नेमा सर्वदलीय बैठक बोलाएर छलफल गरौं र यथार्थ जनतामाझ ल्याऊ भनेर प्रधानमन्त्रीजीलाई भनेका छौ’, अध्यक्ष नेपालले भने ।
नेताहरुकाअनुसार १-२ दिनभित्रै सर्वदलीय बैठक बोलाएर एसपीपीबारे छलफल गरेर वास्तविकता बाहिर ल्याइने छ । समाजवादीका अध्यक्ष नेपालसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, समाजवादीकै नेता झलनाथ खनाल लगायत, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतका नेता आइतबार प्रधानमन्त्री देउवासँग छलफलका लागि बालुवाटार पुगेका हुन् ।
एसपीपी सम्झौताको सत्तापक्ष र प्रतिपक्षले समेत विरोध गरिहेको छ । अमेरिकाले नेपालले एसपीपी नचाहाने हो भने पत्र लेखेर रद्द गर्न सक्ने जनाइसकेको छ । तर सरकारले पत्र लेखेर रद्द गर्नेतिर हालसम्म ठोस कदम चालेको छैन । कतिपय नेताहरुले सरकारलाई पत्र लेखेर एसपीपी सम्झौता अस्वीकार गर्न सुझाव दिएपनि सरकार त्यसतर्फ लागेको छैन ।
आइतबार सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भएको छलफलमा एसपीपीको अलवा आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनबारे समेत नेताहरुबीच सामान्य कुराकानी भएको छ ।




