काठमाडौं, जेठ २२ । ब्लड क्यान्सरको उपचार नेपालमै सहज रुपमा हुने भन्दै विज्ञहरुले बताएका छन् । आइतवार वीर अस्पतालमा क्यान्सर सर्वाइभर्स दिवसको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरुले ब्लड क्यान्सरको उपचार सर्वसुलभ हुने भएकाले ब्लड क्यान्सर हुँदैमा निरास हुनु नपर्ने विज्ञहरुले बताएका हुन् । कार्यक्रममा बोल्दै वरिष्ठ क्यान्सर तथा छाती रोग विशेषज्ञ डा. मदनकुमार पियाले ब्लड क्यान्सर हुँदैमा निरास हुनुनपर्ने बताए । उनले अहिले धेरै प्रकारको टेक्नोलोजी र विज्ञहरु आइसकेकाले ब्लड क्यान्सरको उपचार सहज भइसकेको बताए ।
त्यस्तै भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा.विष्णुदत्त पौडेलले क्यान्सरका धेरै औषधीहरु निःशुल्क पाइने गरेको तर यसको जनतामाझ पुर्याउने कुरामा कमजोरी रहेको बताए । उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि ब्लड क्यान्सर भएर निको भएकोले ब्लड क्यान्सर निको हुनेमा नरहेको बताए । निर्देशक पौडेलले सरकारको क्यान्सरको क्षेत्रमा आम नागरिकहरुलाई सहयोग गर्नुपर्ने र क्यान्सर पीडितका लागि सुविधायुक्त अस्पतालहरू बनाउनु पर्ने बताए ।
त्यस्तै भारतस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरका हेमाटो–अंकोलोजी एण्ड बोनम्यारो ट्रान्सप्लान्टका निर्देशक डा.दिनेश भुरानीले क्यान्सरका सबै बिरामी भारत गएर उपचार गर्न नसक्ने भएकोले नेपालमै आफू आएर निःशुल्क उपचार गर्ने गरेको बताए । उनले बिस्तारै बिस्तारै क्यान्सरको उपचार नेपालमा सहज र सुलभ हुँदै जाने बताए । उनले दुई वर्षयता कोरोनाका कारण राम्रोसँग काम गर्न नपाएको र अब नेपालकै स्थानीय सिस्टमलाई विकास गर्न आवश्यक रहेको बताए ।
उनले भने– ‘क्यान्सरका सबै बिरामी भारत गएर उपचार गर्नुभन्दा भारतबाटै यहाँ डाक्टर आएर उपचार गर्दा सस्तो हुन्छ र उपचार पनि राम्रो हुन्छ भन्ने सोचेर नै मैले नेपालमा आएर क्यान्सरको उपचार गर्न थालेको हुँ । हामीले ग्रुपमा यो काम गरिरहेका छौँ । बिस्तारै बिस्तारै क्यान्सरको उपचार नेपालमा सहज र सुलभ हुँदै जानेछ । हामीले दुई वर्षयता काम राम्रोसँग गर्न सकेका छैनौँ । कोरोनाका कारण अब लोकल सिस्टमलाई डेभलप गर्नुपर्छ ।’
त्यस्तै हेमाटोलोजिस्ट डा.निरजकुमार सिंहले वीर अस्पतालमा बनम्यारो ट्रान्सप्लान्ट बाहेकका सबै उपचारहरू गरिरहेको बताए । उनले जुनसुकै ब्लड क्यान्सर सम्बन्धी जुनसुकै उपचार समयमै भए निको हुने बताए ।
त्यस्तै वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा.भुपेन्द्रकुमार बस्नेतले अस्पतालमा ब्लड क्यान्सर उपचारको लागि स्तरोन्नती गर्ने काम भइरहेको बताए । उनले वीर अस्पताललाई सेन्टर एक्सेलेन्स हुने गरेर काम शुरु भएको र वीर अस्पताललाई नेपाली नागरिकको अस्पताल, विपन्नको अस्पताल बनाउने काम भइरहेको बताए ।
त्यस्तै क्यान्सर पीडित डा. प्रेम दंगालले टेक्नोलोजीको सिस्टम विकास भइसकेकोले अबका दिनमा ब्लड क्यान्सर भएरै मरिन्छ भन्ने सोच्न नहुने बताए । उनले ब्लड क्यान्सरको उपचार नेपालमै उपलब्ध भएको र निको हुने भएकोले यसको सूचना प्रचार गर्न आवश्यक रहेको बताए ।
उनले भने, ‘२१ औँ शताब्दीको यो टेक्नोलोजीको जमानामा ब्लड क्यान्सर लागेर मान्छे मर्दैन । यो विषयलाई यहि तहमा लिएर जानको लागि प्रचारको कुरा गर्न जरुरी छ । त्यो सबै तह, नेपाल सरकार, सञ्चारमाध्यम, सर्वाइभल सोसाइटीहरू, सिभिल सोसाइटीहरूले यो कुरालाई प्रचार गर्नुपर्छ ।
त्यस्तै क्यान्सर पीडित रुबी क्षेत्रीले स्वास्थ्यमा सरकारले राजनीति गर्नु नहुने बताए । उनले चिकित्सकहरुले ब्लड क्यान्सरको क्षेत्रमा सेवा दिने प्रक्रियालाई सहज बनाउन लागेकोले यसमा साथ दिन आवश्यक रहेको बताए ।
कार्यक्रममा सहभागी क्यान्सर पीडितहरुले नेपालमै ब्लड क्यान्सरको सर्वसुलभ उपचार हुने भएकोले आत्तिनु नहुने बताए ।



