बालेन र हर्कराजको जीतले उत्साही स्वतन्त्रहरु संसदको निर्वाचन लड्ने तयारीमा

`

     २०७९ ज्येष्ठ २१ गते ९:३१

काठमाडौं, २१ जेठ । बालेन र हर्कराजको जीतले आगामी संसदीय र प्रदेशको चुनावमा स्वतन्त्र उम्मेदवारी दिन चाहनेहरुको आफ्नै तयारी देखिएको छ । कतिपयले भित्री तयारी थालिसकेका छन् । राजनीतिमा यसपटक स्वतन्त्र उम्मेदवारहरु ठूलो संख्यामा चुनावी मैदानमा देखिने संकेतहरु देखिइसकेका छन् । कतिपयले सामाजिक सञ्जालमा उम्मेदवारी घोषणा गरिसकेका छन् । स्थानीय तहको चुनावमा मुख्य शहरहरुमा स्वतन्त्र उम्मेदवारको जीतले नयाँ पीढीमा राजनीतिप्रति उत्साह जागृत भएको छ । दलहरुले खडा गरेका युवा पुस्ताका उम्मेदवारहरु पनि अधिकांश ठाउँमा जितेका छन् ।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहको जीतले तरंग नै ल्यायो । उनले नेपाली काँग्रेस र नेकपा एमाले जस्ता परम्परागत शक्तिका उम्मेदवारलाई पराजित गरे । उपमेयरमा नेकपा एमालेको तर्फबाट सुनिता डंगोल विजयी भइन् जो युवा पुस्ताकी हुन् । धरानमा राईको सानदार जीत भयो । उनी स्वतन्त्र उम्मेदवार हुन् । यसरी स्वतन्त्र उम्मेदवारले मुख्य शहरमा जीत निकाल्नुमा दलहरुप्रतिको असन्तुष्टि पनि प्रष्ट भयो । जर्बजस्ती उम्मेदवार थोपर्ने परिपाठी दलहरुमा देखियो । यसको जवाफ मतदाताले दिएका छन् । दशकौं देखि उही अनुसार र उही शैलीबाट मतदाता असन्तुष्ट छन् । त्यसको फाइदा नयाँ जोस र दृष्टिकोण भएका युवा उम्मेदवारहरुले लिन खोजिरहेका छन् । उनीहरु भरसक मुख्य दलबाट नभए स्वतन्त्रबाट भएपनि उम्मेदवार बन्ने उद्देश्यका साथ बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?