काठमाडौँ, १० जेष्ठ । नेपाली कांग्रेसले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म ३२२ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ, भने नेकपा एमालेले २०२ वटा पालिकामा जित हात पारेको छ । अहिले सम्म ७४० पालिकामा मतगणना सम्पन्न भएको छ ।
निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटा स्थानीय तहमा निर्वाचन गरेको थियो । हाल ११ पालिकामा मतगणना जारी रहेको छ भने दुई वटा पालिकाको केही केन्द्रमा मतदान हुन बाँकी रहेको छ ।
स्थानीय निर्वाचनमा कांग्रेसले सबैभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष हात पारेको छ । मतगणना भइरहेका ११ पालिकामध्ये ४ वटामा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष जित्ने कांग्रेसपछि एमाले दोस्रो ठूलो दल बनेको छ ।




