भरतपुर मेयरमा रेनु र उपमेयरमा चित्रसेनको जित सुनिश्चित

`

     २०७९ ज्येष्ठ ०९ गते १०:२७

काठमाडौँ,जेष्ठ ९ । चितवनको भरतपुर महानगरपालिकामा ११ हजार १७३ मत गन्न बाँकी रहँदा मेयर र उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदेवार रहेका रेनु दाहाल र चित्रसेन अधिकारीले गन्न बाँकी मतभन्दा पनि बढीको मतान्तर बनाएका छन् ।

२९ वडा रहेको भरतपुर महानगरपालिकामा सोमबार साँझ वडा नम्बर २७ को मतगणना सुरु हुदा मेयर पदका रेनु दाहालले ४७ हजार ४० मत ल्याएकी छन् भने मेयर पदका अर्का उम्मेद्वार एमालेका विजय सुवेदीले ३५ हजार ५८३ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार २६३ मत ल्याएका छन् । त्यसैगरी उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका चित्रसेन अधिकारी झनै फराकिलो मतान्तरमा छन् । उपमेयरमा एमालेले समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी की उम्मेदवार हिमला गुरुङको २७ हजार ९२२ मत आएको छ । अधिकारी र हिमलाबीच २० हजार ३६ मतको फराकिलो अन्तर भएको हुँदा उपमेयरमा चित्रसेन अधिकारी पक्का भएका छन् ।मेयर पदमा रेनु दाहालले सुवेदीभन्दा ११ हजार ४५७ मत बढी ल्याएकी छन् । जुन अन्तर अब गन्न बाँकी मतभन्दा पनि धेरै हो । दुईवटा वडाको मत गणना सुरु नहुँदै रेनु दाहालको जित निश्चित भएको छ ।

हालसम्म एक लाख १६ हजार ६६६ मत गणना भएर सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।भरतपुर महानगरपालिकामा कुल मतदाता एक लाख ८५ हजार रहे पनि एक लाख २७ हजार ८३९ ले मतदान गरेका थिए ।निर्वाचन कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले सकेसम्म सोमबार रातभरमा गणना सक्ने तयारीमा रहेको बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?