काठमाडौँ, ८ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियासँग शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री देउवाले आइतबार बिहान जियासँग भेटपछि यसबारे ट्वीटरमार्फत् यसबारे जानकारी दिएका छन् । ‘अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री नेतृत्वको अमेरिकी प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुसी लागेको छ,’ देउवाले ट्वीटरमा लेखेका छन् ।
भेटको क्रममा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा विचार आदानप्रदान भएको पनि प्रधानमन्त्री देउवाले जनाएका छन् ।
अमेरिकी विदेश मन्त्रालयले नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जियालाई नेपाल भ्रमणका लागि पठाएको हो । जेठ ६ गते नेपाल आएकी जिया ८ गतेसम्म नेपालमा रहने छिन् ।
नेपाल–अमेरिकाको सन् १९४७ अप्रिल २५ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो ।




