काठमाडौं, जेठ ८ । आइतबार बिहान सार्वजनिक अन्तिम परिणाम अनुसार स्वतन्त्र उम्मेदवार गोपाल हमालले सत्ता गठबन्धनतर्फका नेपाली काँग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै कैलालीको धनगढी उपमहानगरपालिका मेयर बनेका छन् । स्वतन्त्र उम्मेदवार हमाल २६ हजार ४४३ मतसहित विजयी हुँदा निवर्तमान मेयर समेत रहेका वडले १४ हजार १४६ मत पाए । हमाललाई राप्रपा र विवेकशील साझाले समर्थन गरेका थिए भने काँग्रेसका वडलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ थियो । तर हमालले वडलाई १२२९७ मतान्तरले पराजित गरेका हुन् । ०७४ को निर्वाचनमा वडसँग हमाल २७९७ मतले पराजित भएका थिए ।
काँग्रेस उम्मेदवार वडले १४३२४ मत ल्याँदा हमालको ११ हजार ५ सय २७ मत मात्र आएका थियो । गठबन्धनको साथ हुँदा पनि यसपटक वडले ०७४ मा पाएको मतभन्दा १७८ मत कम पाए । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेश धनगढीमा हमाल निर्वाचित काँग्रेसलाई ठूलो धक्का लागेको छ । देउवा पत्नी तथा काँग्रेस नेतृ डा. आरजु राणाको निर्वाचन क्षेत्र रहेको हमालको जित संघीय चुनावका लागि थप चुनौती बनेको छ । राणा गत निर्वाचनमा एमाले उम्मेदवार नारदमुनी रानासँग पराजित भएकी थिइन् ।
काँग्रेसले गत निर्वाचनमा मेयर उपमेयर जितेको थियो तर यसपटक दुवै पद गुमाएको छ । उपमेयरमा गठबन्धनलाई हराउँदै एमालेकी कन्दकलाकुमारी राना विजयी भएकी छन् । गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी शान्ति अधिकारीलाई हराउँदै एमालेकी कन्दकलाकुमारी राना उपमेयर बनेकी छन् ।




